दशै लागेको रहेछ, सुनसान सडकले यहीँ यथार्थ बोध गरायो। यहीँ भुमिमा पहिला मोटर कुद्न कुनै चलचित्रको विज्ञापन वा चुनावको माहोल बन्नु पर्दथ्यो। पछि त्यहीँ मोटर कम हुनको माने बन्द या चक्काजाम हुन्थ्यो। विगत पाँचसात बर्षयता मोटर र होहल्ला कम हुनुको अर्थ दशै आयो भन्ने नयाँ विम्ब बनेको छ।
देशबाट हिजोआज पश्चिम जानेहरुको क्रम लगातार बढेको छ। पहिला शिक्षा र रोजगारीका लागि हिन्दुस्तान निर्विकल्प थियो। बिस्तारै प्रथम विकल्पमा सिमित भारत अहिले आफै नै बौद्धिकतालाई निर्यात गर्छ। यो सब छोडौ, दसै लागेको छ, तर दशै मनाउन आउनेको देखिने लर्कोले पनि दशै आएको आभास गराउछ।
राजधानीमा मान्छे कम भएका छन्, पहिला मैले देखेको जस्तै। तर विडम्बना कङ्क्रिट कम भएको छैन। हरियो धानको बाला झुल्ने खेतमा इन्द्रेणी झेैँ देखिने रङ्गको सौर्न्दर्य पनि फिक्का भएको छ। आकास धेरै पछि निलो र सेतो देख्दा पनि मैले चरा र चङ्गाको उपस्थिति देखिन। खै किन हो विरानो भएका चराहरु। ७७ जिल्ला र भारतका धेरैलाई माया दिएको राजधानी किन चरालाई प्यारो हुन सकेन।
राजधानी र राजधानी वासी हामी कति अभागि लाग्छ। बर्षदिनभरि सँगै रहेकाहरु पनि जब खुसि बाड्ने बेला हुन्छ, सबैलाई विदाई गर्नुपर्छ। नजाउ मनले भन्छ, तर उनीहरूलाई कुरिरहेकाहरुको आर्तनाद ठोकिन्छन् यी कानहरुमा अनि हामी विवश छौं विदाइ गर्न। तर मन चिरिन्छ जब उनीहरु विदा जाँदै गर्दा परदेशी झै व्यवहार गरिदिन्छन्। भनिदिन्छ बाईबाई फोहोर माण्डु, धुलोमाण्डु आदि इत्यादि। अनि बुढापाखाको भनाई याद आउँछ "दूध खुवाएर पालेको सर्पले आफैलाई टोक्छ अरे"। सायद एक भानाइको दायराले यति फराकिलो अर्थमा असर पर्छ भन्ने उनीहरूले त्यतिबेला थाहा पाएकी पाएनन् होला?
कोहि दोहोरी गित सुन्दै गाउँजानुको मज्जा काठमाडौंलाई के थाहा भन्छन्। कोहि लिङे पिङ्ग र रोटेपिङ्को मज्जा काठमाडौंलाई के थाहा भन्छन्। कोहि के कोहि के भन्छन्। ल भो हामीलाई थाहा छैन तर तिमीले साथ दिएमा हामीले पनि त्यो महसुस गर्थ्यौ होला? तर तिमिलाई बर्ष भरि जसले साथ दियो खै तिमीले त्यो पिङ्गहरु यता हालिदिन सक्यौं? निस्ठुरि रहेछौ नि यार तिमी पनि।
राजधानी आमा र बाबा दुवै हो। यसले मातृत्व र पितृत्व दुवै दिएको छ। तर ए साथी तिमीले छोराछोरीको कर्तव्य कहिल्यै निर्वाह गर्यौँ। बर्षदिनभरि आफुले जथाभावी फोहोर फाल्ने अनि फोहोर माण्डु चाहिँ तिमीले बर्षपार्कमा पुगेपछि मात्र बोध गर्ने?
हामी काठे क्षेत्रकाहरु मिलेर बसेका थियौ हिजो पनि आज पनि। हाम्रो पनि काठे भाका मिठो छ, "बोतलको पानीमा" तिमीहरुलाई नचाएको छ त्यो भाकाले। "रुमालै छ चिनो", "घुम्तिनेर भेट भयो" त सुनेरै हुर्किएका हौ तिमी पनि, अनि हामीलाई दोहोरी सुन्दै घर जानुको मज्जा भन्दै लोभ्याउछौ।
हामी काठमाडौं वासीलाई राजधानी वासी वन्न कुनै इच्छा छैन। राजधानी तिमी लैजाउ तर हामी त्यो तितो व्याङ्गे कहिले सम्म सहन गर्ने विन्ती यसपाला जादाजादै बताइदेउ न। हामी काठमाडौँ ललितपुर भक्तपुर लगायत काभ्रे धादिङ्ग सिन्धुपाल्चोक सिन्धुली नुवाकोट एकै काठे क्षेत्रका हौ। हामीमा कति विविधता छ एकपटक सामाजिक शिक्षामा ध्यान देऊ त। यक्ष मल्ले काठमाडौलाई भक्तपुर र ललितपुर बनाएर बाडेका हुन्। त्यो भन्दा पहिला अर्को कुनै त्यस्तै राजाले यो पूरा क्षेत्र बाढेका मात्र हुन। नत्र हामी एक थियौ काठ क्षेत्र। हाम्रो भुगोल हेर त।
म आज मैले चङ्गा उठाउने क्षेत्र हेरेर गम खाएर आए। चङ्गा उडाउने बारीका पाटा, चेट भएका चङ्गा समात्न कुद्ने घोरेटो, धानवारी सबै कल्पनामा मात्र रह्यो। मैले तिमीहरू सबैलाई सम्झे साथी जसका निम्ति यो सब सिध्धाइएको छ।
राजधानी किन यस्तो भयो? मलाई साह्रै असह्य महसुस भइरहेको छ। ब्राजिलको राजधानी ब्रासिलिया हो, तर जनघनत्व रियो दि जेरेरियोमा छ। अष्ट्रेलियाको क्यानभेरा तर जनघनत्व सिड्नि लगायतको सहरमा छ। अमेरिकाको वासिङ्टन भन्दा न्युयोर्क, क्यालिफोर्नियामा जनघनत्व बढि छ। हाम्रा राजनेताले राजधानीलाई कहिल्यै प्रतिष्ठाको रुपमा लिएनन्। त्यसैले आज राजधानीको स्तर खस्कदै गएको छ। हामीले विचार बेलैमा गर्नु पदर्थ्यो, भारतले दिल्ली पछि राजधानी बनाएको हो, अष्ट्रेलियाले पनि पछि नै क्यानभेरा राजधानी बनाएको छ। इन्डोनेसिया पनि नयाँ राजधानी बनाउदै छ। हामीले पनि सोच्नु पर्नेबेला बएको छ।
किन केपि ओलिले झापालाई काठमाडौंको र्विकल्प बनाउन सकेनन्। खै सिङ्गापुर झै देश बनाउछु भन्ने प्रचण्डले चितवनलाई काठमाडौं विकल्प बन्ने बाटो नै पहिल्याउन सकेन। बाबुरामले काठमाडौंमा बाटो लगायत पुर्वाधार त बनाउन सुरु गरेका थिए तर खै गोर्खालाई काठमाडौको भरबाट मुक्ति दिन सकेका? त्यति राम्रो सुदुरपश्चिमाञ्चललाई देउवाले नजिकको तिर्थ हेला नै गरे। झल्लुको इलाम र माकुनेको रैतहट पनि उस्तै हालतमा छन्। तर देश बनाउन सक्ने कोहि माइकालाल जन्मिन नै सकेनन् यो देशमा।
राजधानीलाई वैकल्पिक क्षेत्र बनाउन पर्ने बेला आइसक्यो। जनताको आवश्यकता अनुसारको पुर्वाधार सम्पूर्ण जिल्लामा बनाउनु पर्छ। यसरी एकल जिल्लाको नेतृत्वले राष्ट्र बन्दैन। राष्ट्रले विकासका लागि विकेन्द्रीकरण गर्नै पर्छ। तर हामीकोमा त्यस्तो सबै किसिमका विकास मोडलले काम नै गर्नै सकेनन्।
सुनेको कुराहरु कतिको सत्य हो थाहा छैन। भन्थे अग्रजले भारत स्वतन्त्रताको बेला बेलायतले जुद्ध समसेर र पछि पद्म समसेरलाई पनि नेपालको पुर्व टिष्टा र पश्चिम कागडा सम्मको भुमि फिर्ता लिन आग्रह गरेका थिए रे। दुवै सासकले त्यो बेला बताएका थिए, "यति सानो नेपालमा त हामीलाई शासन गर्न गाह्रो छ, यो पनि यो देशमा गाब्द त हाम्रो शासन ढलिहाल्छ" रे। एक नेपालीको आखाबाट हेर्दा त्यो दुख लाग्छ। एक मानवताको आखाले हेर्दा सुख लाग्छ, तिनले जे होस् काठमाडौंको जस्तो भर पर्नुपर्ने अवस्था भोग्नु परेन।