हर दिन बिहान ओछ्यानमा ऊ बोलाउन आउथ्यो। फरक स्कुल भए पनि हामी प्राय सँगसँगै स्कुल जान्थ्यौ। मलाई जीवनमा साथीको आदत पार्ने नै उहीँ हो जस्तो लाग्छ हिजोआज। साथी भएर नै हिम्मत आउने रहेछ, लाग्थ्यो मैले नसक्ने केही छैन संसारमा, तर वास्तविकता एकल हुदा थाहा हुने रैछ। अहिले थाहा पाउदैछु।
लाग्छ मैले जानेका धेरै कुरामा उसको पनि अंश छ। मलाई तिमीले यस्तो गर्नु हुन्न भनेर धेरै पटक सुझाव दिएको छ उसले। मेरो समस्यामा मलाई "मे हुँ नाँ" भन्दै साथ दिने साथी, धेरै वर्ष देखि प्रदेशमा छ। बिचमा एकपटक कुराकानी भएको छ, सामाजिक सञ्जालमा त्यो पनि मेरो लेख पढेर उसले केही लेखेको थियो। तर विगतमा लामो समय देखि "मलाई आमाबाको भन्दा साथीको धेरै माया लाग्छ किनकि आमाबाले विचमा छोडेर जान्छन् साथीहरु अन्तसम्म रहन्छन्" भन्ने साथीसँग कुराकानी भएको छैन।
त्यसो त सम्बन्धमा तलमाथि भइ नै रहन्छन्। अगुल्टो पनि न झोसि त बल्दैन, सायद केही साना तिक्तताले सम्बन्धमा फक्रन ठुलो काम गर्छ ।
केही बेर अगाडी एउटा साथी आएर गयो। प्राय आई रहन्छ। सायद उसलाई थाहा होला, यसलाई साथीको आदत छ। आउछ जान्छ। कहिले कुराकानी हुन्छ, कहिले वादविवाद। तर कस्तो माज छ भने नि यहाँ हार्नेले पनि आफ्नो नै जित सम्झन्छ।
जीवनमा मैले सबै उस्तै संगत मात्र पाएर होला मलाई मान्छे खराब हुन्छ भन्ने नै लाग्दैन। मलाई बारम्बार समाजले राम्राको संगत गर्नुपर्छ भनिरह्यो, तर मेरो यात्रा अविरल बगिरदा पनि संगतमा पश्चाताप भने लाग्ने अवस्था भने आएको छैन।
मान्छे प्रसंसाको खुब याद गर्छ। एकपटक एउटा साथीले "तिमी जता पनि फिट हुन्छौ यार, म केटि हुन्थे भने तिमीलाई प्रप्रोज गर्थे" भन्यो मलाई यसको परमआनन्द आजसम्म छ, सायद पछि सम्म रहनेछ। यस्तो कुराले आफु सिङ्गल पिस हुँ जस्तो लाग्छ। यस्तै अर्को एउटाले कलेजका दिनमा भनेको थियो, "तिमी हर क्षेत्रमा कम्तिमा ५०% छौं।" फुर्सदका दिनमा मलाई मेरो मनोबल गिर्न नदिने यी शब्दले नै जिवनमा मलाई संभावना देखाइरहेको छ।
मैले आफ्नो बाल्यकाल उत्कृष्ट रुपमा जिए भन्ने लाग्छ। राम्रो पढे, स्कुलमा राम्रो विद्यार्थी नै रहे। डन्डिवियो, लुकामारी जस्तो मौलिक देखि गुच्छा, फुटबल, क्रिकेट, लखेट्ने भेट्ने, इटा ढलाउने लगायत आगन्तुक खेल पनि खेले। ती समयका थोरै साथी आज परेन्त देख भेट हुन्छन्। कोहिसँग अनौपचारिक सम्बन्ध रहे पनि आज धेरैसँग औपचारिक जस्तो सम्बन्ध छ। थौरै साथीहरू छन् स्वदेशमा गन्दा कान्छी औलाको वरिपरि नै रहने।
चिया चिनी घोडा बोका कुत्ता बुङ्गुर जस्तो सजिवको देखि घडि तराजु जस्तो निर्जीव सबै थियो साथीहरूको उपनाम। ती उपनामहरु आज डाक्टर इन्जिनियर पाइलट आदि इत्यादी के के ले विस्थापित गरे होला सम्बन्ध उस्तै नभएकाले थाहा पाउन सकेको छैन।
केही भविष्यमा आफ्नो लक्ष्य नभेटेर नै अर्काको भविष्य हेर्ने पेसामा लागेका छन् भने कोहि यस्तै फिरन्ते बनेका छन्। हिजोआज लाग्छ भविष्य बताउने भन्दा डोर्याउने व्यक्तिको जिवनमा खाचो हुने रहेछ,म आफैँलाई देखेर निश्कर्ष निकाल्छु। कुनै समय अर्को विषय पढ्न जाने साथी नभएर म त्यो विषय छोडेर बसे। तर गल्ती त त्यो भन्दा पहिल्यै गरेको थिए। उहीँ विषय पढ्ने, अनि मेरो पछि लाग्ने मलाई माया गर्ने महिला मित्रको साथ छोडेर। मलाई मलाई माया गर्नेको भन्दा साथीको विश्वास लागेर हिडेको ठुलो अहिले आफैलाई प्रश्न चाहीँ गर्न मन लाग्छ। सायद म विगतमा उनको पछि लागेको भए मेरो वर्तमान फरक हुन सक्थ्यो।उनले अरु खोजेर यात्रा धेरै अगाडी बढाई सक्दा मैले उनी जस्ती अर्की भेट्न पनि सकेको छैन। सायद उनी पनि सिङ्गल पिस नै थिइन की?
जिवनमा एउटा मात्र साथी भए पनि बलियो साथी हुनुपर्छ भन्ने सिकेर अगाडी आएको म, आज धेरै साथीहरू हुदा पनि एक्लो लाग्ने अवस्थामा छु। कुनै समय मैले गर्दा उसले पनि विदेश जाने बाटो मोडेको एउटा साथीको कुरा सम्झन्छु, "साथी भनेको विषय मिल्ने बनाउनुपर्छ।" नित्य रुपमा सम्पर्क नभए पनि अन्तरालमा कुराकानी हुने विभिन्न पेसागत साथीहरू छन् कोहि निजामती छन् कोहि प्रहरी सेवामा छन्, कोहि नेता बन्ने लाइनमा छन् कोहि विनोद चौधरी। कोहि गाउँ बनाउने सपनमा जन्म स्थानमा छन् कोहि प्रदेशमा इटा थप्ने लाइनमा छन्। सबै सायद व्यस्त छन्। सायद यो लेख्दै गर्दा ती तमाम साथीहरुलाई हिक्का पक्कै लाग्यो होला। सायद कार्य व्यस्तताले कस्ले सम्झियो भनेर सोच्न भन्दा पानी खान लागे होलान् कि?
साथी बनाउने क्रम कहिले सुरु गरे थाहा नभए पनि आजसम्म बनेका साथीहरू सबैको उत्तिकै माया लाग्छ। याद आउछ। हिजो साथ दिएका साथीको पनि आउछ, आज साथ दिनेका पनि लाउछ। अनि भोलि पनि साथै हुनुपर्छ भन्ने को पनि आउछ। एउटा साथी छ, जसले मलाई एक पटक बुढ्यौलीमा पनि कोसँग यस्तै गरि बस्न चाहानुहुन्छ भनेर आएको सामाजिक सञ्जालको पोष्टमा मलाई मेन्सन गर्यो। यो ठुलो उपलब्धि हो जस्तो लाग्छ मलाई। उसैले मलाई मेरो स्नातकोत्तर तहको पढाइ पछि पनि बेरोजगार नै बसेको समयमा भनेको छ,"तिमिले अमेरिका अष्ट्रेलिया जाने होईन, सबै उतै गएर हराउनु हुन्न। बरु दुबई कतार जाऊ त्यता पनि डिपाटमेन्ट्ल स्टोरमा राम्रो आम्दानी हुन्छ रे।" उसले केहि भावनात्मक पारामा भनेको कुरा सायद मलाई जीवन भरी याद आउनेछ।
मलाई साथीको अर्थ\परिभाषा आउन्न, सायद साथीसँग गर्ने व्यवहार पनि। मन लागेको बोलोदिन्छु। मलाई लाग्छ साथीसँग बोल्दा पनि औपचारिक हुन परे त्यहाँ साथीको नाता नै रहन्न जस्तो लाग्छ।
मसँग उमेर समुहका मात्र होइन, उमेर भन्दा ठुलो र सानो सबै उमेरका साथीहरु छन्। मसँग मेरो धेरै साथीहरुसँगको फोटो पनि छैन, सायद फोटोमा भन्दा चम्किलो तिनको उपस्थिति मेरो मन मष्तिस्कमा छ, सायद यो ठुलो पृथ्वीमा कुनै भेट हुदा मैले कसैलाई मेरो परिचय दिनु पर्दैन होला।