धेरैलाई विर्सियो होला जस्तो लाग्छ। धेरैले जिवनमा धेरै गुन लगाए होलान। औपचारिक ज्ञान दिनेलाई बेला मौकामा सम्झिन्छ, तर अनौपचारिक पात्रलाई सम्झन गाह्रो हुन्छ। आज अनायसै ती पात्र प्रति कृतज्ञता व्यक्त गर्न लाग्दैछु।
वस्तुको विनिमय मात्र गर्ने पसल सञ्चालकलाई त उसको सेवाको लागि कृतज्ञता व्यक्त गर्ने गर्छु भने अन्य विर्सिएका अनुहारलाई कसरी टाढा राखु। आज सबैलाई यथानाम गरेर एकमुष्ट धन्यवाद भन्दैछु।
मान्छेले सेवा पछि धन्यवाद भन्छ, त्यहिँ संस्कारमा पढेबढेको बबुरो हुँ। बिर्सिएका र छुटेकालाई सम्बोधन गर्न समय आवश्यक छान्दै थिए। उपयुक्त समय लाग्यो, नयाँ वर्षको पुर्व सन्ध्या, भोलिबाट नयाँ संवत सुरु हुदैछ, आज सबैलाई कृतज्ञता व्यक्त गर्दछु।
कखरा चिनाउने विद्धालय, लेख्न सिकाउने गुरु वर्ग, खेल खेल्न सिकाउने मित्र सबैलाई धन्यवाद। ती मध्ये गुरुवर्ग, नाता कुटु्म्ब प्रति सदैव आभारी हुनेछु। तर कतिलाई थाहा नै नपाइ विर्सिन पुगेछु। खै कसले पहिला कखामा च्याप्यो होला, को कसले औला समाएर हिडायो होला। सयौंले हजारै पटक क ख ग भनेर सिकाए होला। ती सबैलाई हिजोलो लागि धन्यवाद भन्न चाहान्छु।
कसले होला मलाई पहिला खेलकुद चिनाएको, कसले होला ति बाल्यकालका खेलकुद सिकाएको। डन्डि र वियो, इटा ढलाई, चुङ्गि जस्ता ईतिहास भएका खेल सिकाउने पात्र त आज गुमनाम छन्। मसँग तिनको अनुहारसम्म सम्झने शक्ति रहेन। भलै कृकेट, बाष्केटबल, फुटबल जस्ता उदाउँदो खेल चिनाउनेलाई पात्र मेरो मानसपटलमा जिम्दा छन्। ती विर्सिएकालाई आज आम माफि माग्दै धन्यवाद भन्छु, ति यादमा भएकालाई पनि हिजो झैँ आज पुन धन्यवाद।
कति पटक अस्पताल पुगे होला, कुन कुन डाक्टरले बचाए होलान। कुनकुन वैज्ञानिकको फर्मुलाले जीवन दियो होला, कतिले कति नापिनापि बनाएको औषधीलाई कुनकुन मेडिकल पसल सञ्चालकले दोहोर्याउदै तेहेराउदै कुनकुन परिणाममा खुवाउन सिफारिस गरे होलान्। ती सबैलाई धन्यवाद।
म जन्मेको समयमा विज्ञानको मात्र राज थिएन। कति मन्त्रको शक्तिको पनि थियो। मन्त्र शक्ति पनि लामो साधनबाट प्राप्त भएको हुन्। जसरी डाक्टरले साधना गरेर डिग्री प्राप्त गर्छुन, जसरी फार्मासिष्टले एकाग्रता र साधनाले औषधीको फर्मुला निर्माण गर्छुन्। त्यसैगरी एक साधु, सन्त, धामी, झाक्रिले पनि साधनबाट शक्ति प्राप्त गर्छन् भन्ने लाग्छ। हो त्यस्तै शक्तिले पनि मलाई धेरै पटक बचाएको छ। ती क्षेत्रका महान हस्तिप्रति आज आभार व्यक्त गर्न चाहान्छु।
कतिले मायाले प्रेरणा दिए, कतिले गालीले। त्यसैको परिणाम लाग्छ आजसम्म असल मान्छे बनी टिकिरहन हौसला दिएको छ। ती पात्रलाई पनि आज धन्यवाद भन्न चाहन्छु।
कति महान हस्तिहरुलाई हेरेर सिकियो, कति असफलबाट पाठ पढियो, यस्तो बाटोबाट गरे हानि हुन्छ भन्ने सिकियो। सिक्नलाई सदैव कलम समाएर सिकाए जस्तो हुदैन भन्ने पनि अरु कसैलाई हेरेर नै त सिकियो होला। यति सिकाउनेहरुलाई धन्यवाद मात्र भए पनि दिएर गुरु दक्षिणा दिनुपर्छ भन्ने लाग्दैछ।
मलाई धेरैले धेरै वस्तु दिए, सेवा दिए। कतिमा कतिलाई धन्यवाद भनियो कतिमा भनिएन। सायद यो शिलशिला निरन्तर रहला। सायद कसैलाई नमस्कार भनेर शिर निहुराएर मात्र सम्मान दिइन्छ भने म त्य सिद्धान्तमा विश्वास गर्दिन। तर यी बाहेक पनि अन्य विकल्पहरु छन् जसमा मैले सबैलाई उनीहरूले गरेको कार्यका लागि धन्यवाद भनेको छु।
धन्यवाद भन्न म आफुलाई मात्र केही गर्नुपर्छ भन्ने म मान्दिन। राम्रो फिलिम हेरेको बेला फिल्मको सम्पूर्ण टिमलाई धन्यवाद भन्छु। खेलबाट आनन्द दिनेलाई पनि धन्यवाद भन्छु। कसैको अन्यायको विरुद्ध बोल्नेलाई पनि धन्यवाद भन्छु। मेरो देशलाई प्रवासमा चिनाउने\सम्झाउनेलाई पनि धन्यवाद भन्छु। अनाज उब्जाउनेलाई धन्यवाद। हिजोभन्दा आज राम्रो बनाइदिनेलाई धन्यवाद। ती विर्सिएका सबैलाई धन्यवाद।