बन्द ओठहरुको पनि
मौन समर्थन हुन्छ
पक्ष अनि विपक्षलाई
खुल्ला ओठहरुले बोले जस्तै गरि।।
तपाई बोल्न नछोड्नुस् भन्छन्
दुवै पक्षहरुलाई मान्छेहरु।
बन्द ओठहरुको
मौनताको भाषा नै मीठो
यता पनि मिल्ने उता पनि मिल्ने
यताकाले आफ्नो भन्छ
उताकाले पनि आफ्नो भन्छ
त्यसैले त यसको व्यापार हुन्छ
खुल्ला ओठहरुले बोलेर गरे जस्तै गरि।।
व्यापार
वस्तुको मात्र होइन
बोलिको पनि हुन्छ
बोलेको मात्र होइन
मौन बसेको पनि
जसरी जमिन मौन हुन्छ
जमिनदारको बोलाबोलले काम हुन्छ।
बन्द ओठहरु
खुले भने आधी तुफान आउछ
बन्द ओठहरु सुतिरहे पनि
आधी तुफानले सताउछ
सायद परिणाम
आउदा ढिलो हुन्छ
ओठहरु सुतेको
ओठहरु उठेको।
ओठहरु
नवविवाहित जोडिहरु जस्तो हुँदै होइनन्
जो छुट्टिन गाह्रो मान्छन्
यिनीहरु हाडिमा घान हालेको मकै पनि होइनन्
जो निरन्तर पटपटइ रहन्छन
ओठहरु ढुङ्गा पनि होइनन्
भाव शुन्य रहने
ओठहरु नदि पनि होइन
सदै भावुक रहिरहने
ओठहरु चेतनाको बारुद हुन
चाप र ताप परेपछि
विष्फोट हुने।
तपाईंलाई ओठहरु खोल्न
अनि बन्द गर्न दुवै स्वतन्त्रता छ
तर प्रश्न यो हुन्छ कि
तपाई मरेर बाच्ने कि
बाचेर मर्ने?
बन्द ओठहरुले यहि भन्छन्
खुल्ला ओठहरुले पनि यहिँ भन्छ।